२७ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अबको एक सातापछि मात्रै सरकारी निवास बालुवाटार सर्ने भएका छन् । अहिले बालुवाटारमा नयाँ रंग लगाउने काम भइरहेको छ ।
प्रधानमन्त्री कहिले बालुवाटार सर्नुहुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा देउवानिकट स्रोतले ‘सरसफाइ गर्नुपर्यो, भर्खर त रंग लगाउन सुरु गर्दैछन्, अझै एक साता लाग्न सक्छ ।’
देउवाको सपथ ग्रहणकै दिन निवर्तमान प्रधानमन्त्री प्रचण्डले बालुवाटार छाडिसकेका छन् ।
तर, सर सफाइ गरेरमात्रै नयाँ प्रधानमन्त्री देउवाको बालुवाटार बसाइँ प्रारम्भ हुने स्रोतले अनलाइनखबरलाई बतायो ।
हाल बूढानीलकण्ठमा बस्दै आएका प्रधानमन्त्री देउवा बालुवाटार नसर्दासम्म उनलाई भेट्न जाने कर्मचारी र पार्टीका नेताहरुको लामो यात्रा गर्नुपरेको छ । बूढानीलकण्ठस्थित देउवा निवास रिङरोड भन्दा बाहिर भएकाले आवत-जावतमा अलि अपायकमा पर्छ ।
प्रधानमन्त्री देउवा करिब १२ वर्षपछि बालुवाटारमा सर्न लागेका हुन् । यसअघि उनी ३ पटक प्रधानमन्त्री हुँदा बालुवाटारमा बसिसकेका छन् ।
Comments